📢 विज्ञापन (900 × 80) — यहाँ तपाईंको विज्ञापन देखाउनुहोस्
📅
वि.सं. २०८३ कार्तिक २४, सोमबार ९ नोभेम्बर २०२६ (Monday)
📢 विज्ञापन स्पेस (९०० × १००) — यहाँ तपाईंको विज्ञापन देखाउनुहोस्

सात महिनामा सेयर बजारबाट गुम्यो पौने चार खर्ब, टाट पल्टँदै लगानीकर्ता

सात महिनामा सेयर बजारबाट गुम्यो पौने चार खर्ब, टाट पल्टँदै लगानीकर्ता
सात महिनामा सेयर बजारबाट गुम्यो पौने चार खर्ब, टाट पल्टँदै लगानीकर्ता तस्बिर: बर्दिया टाइम्स
सेयर गर्नुहोस्: Facebook WhatsApp Twitter (X)

काठमाडौं । राजनीतिक स्थिरता, नीतिगत स्पष्टता र आर्थिक गतिविधिमा सुधारको अपेक्षासहित गठन भएको वालेन्द्र साह नेतृत्वको सरकारले सात महिना पूरा गर्दा पनि सेयर बजारले अपेक्षित गति लिन सकेको छैन । सरकार गठन हुनुअघिको तुलनामा बजार परिसूचक र कुल बजार पुँजीकरण दुवै घटेका छन् । पछिल्लो समय केही सुधार देखिए पनि समग्रमा बजारले लगानीकर्ताको विश्वास जित्न सकेको छैन ।

२०८२ चैत १३ गते नयाँ सरकार गठन हुँदा त्यसको अघिल्लो दिन चैत १२ गते नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २ हजार ९५०.१६ विन्दुमा थियो । उक्त दिन सेयर बजारको कुल पुँजीकरण ५० खर्ब ९ अर्ब रुपैयाँ थियो । तर, सरकार गठन भएको सात महिना पूरा हुँदा कात्तिक १३ गते नेप्से परिसूचक २ हजार ६९०.१५ विन्दुमा सीमित भएको छ भने बजार पुँजीकरण ४६ खर्ब ३० अर्ब रुपैयाँमा झरेको छ ।

यसबीच नेप्से परिसूचक २६०.०१ अंक अर्थात् करिब ८.८१ प्रतिशतले घटेको छ । बजार पुँजीकरण पनि ३ खर्ब ७९ अर्ब रुपैयाँ अर्थात् करिब ७.५७ प्रतिशतले खुम्चिएको छ । यसको अर्थ सात महिनाको अवधिमा सेयर बजारबाट झण्डै पौने चार खर्ब रुपैयाँ बराबरको बजार मूल्य घटेको छ ।

यद्यपि, पछिल्लो समय बजारमा केही सुधार देखिएको छ । असोज मसान्तमा २ हजार ६३४.१७ विन्दुमा रहेको नेप्से कात्तिक १३ मा २ हजार ६९०.१५ विन्दुमा पुगेको छ । यसैगरी, असोज मसान्तमा ४५ खर्ब ३४ अर्ब रुपैयाँ रहेको बजार पुँजीकरण बढेर ४६ खर्ब ३० अर्ब रुपैयाँ पुगेको छ । तर, यो सुधारले सात महिनाको समग्र गिरावटलाई पूर्ति गर्न सकेको छैन ।

नयाँ सरकार गठन हुँदा राजनीतिक स्थिरताले लगानीको वातावरण सहज बनाउने, निजी क्षेत्रको मनोबल बढ्ने र आर्थिक गतिविधि विस्तार हुने अपेक्षा गरिएको थियो । तर, सरकार गठनपछिको सात महिनाको बजारले राजनीतिक परिवर्तन मात्रै पुँजी बजारमा उत्साह ल्याउन पर्याप्त नहुने देखाएको छ । लगानीकर्ताले सरकारको बहुमतभन्दा पनि आर्थिक नीतिको दिशा, निजी क्षेत्रप्रतिको व्यवहार र लगानीको सुरक्षालाई बढी महत्त्व दिने गरेका छन् ।

सेयर बजारमा देखिएको सुस्तताको एउटा प्रमुख कारण लगानीकर्ताको कमजोर मनोबल हो । सरकार गठनपछि व्यवसायीमाथि भएका धरपकड र अनुसन्धानका क्रममा अपनाइएको शैलीले निजी क्षेत्रलाई सशंकित बनाएको लगानीकर्ताहरूको बुझाइ छ । व्यवसायीमाथि अनुसन्धान हुनु स्वाभाविक भए पनि त्यसको प्रक्रिया र शैलीले समग्र निजी क्षेत्रलाई त्रसित बनाउने अवस्था आउन नहुने उनीहरूको तर्क छ ।

सरकारले दुई तिहाइ बहुमतको बलमा आफूले चाहेको निर्णय गर्न सक्ने सन्देश दिन खोज्दा निजी क्षेत्रले नीतिगत स्थिरता र लगानी सुरक्षाबारे प्रश्न उठाएको देखिन्छ । यसले ठूला तथा संस्थागत लगानीकर्तालाई नयाँ लगानी विस्तार गर्नुअघि थप सतर्क बनाएको छ । लगानीकर्ताले आफ्नो पुँजी र व्यवसाय सुरक्षित हुने विश्वास नगरेसम्म बैंकमा पर्याप्त तरलता र ब्याजदर न्यून भए पनि त्यसको प्रभाव सेयर बजारमा स्वतः देखिँदैन ।

बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम पर्याप्त हुनु र सेयर बजारमा खरिद माग बढ्नु फरक विषय हुन् । ब्याजदर घटेको अवस्थामा पनि बैंकमा ठूलो रकम निष्क्रिय रहनुले अर्थतन्त्रमा लगानीको माग अपेक्षाअनुसार विस्तार हुन नसकेको संकेत गर्छ । बैंकमा पैसा थुप्रिँदै जाने तर पुँजी बजारमा नयाँ लगानीकर्ताको प्रवेश र खरिद क्षमता नबढ्ने अवस्थाले बजारको गतिशीलतामै प्रश्न खडा गरेको छ ।

बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम पर्याप्त हुनु र सेयर बजारमा खरिद माग बढ्नु फरक विषय हुन् । ब्याजदर घटेको अवस्थामा पनि बैंकमा ठूलो रकम निष्क्रिय रहनुले अर्थतन्त्रमा लगानीको माग अपेक्षाअनुसार विस्तार हुन नसकेको संकेत गर्छ । बैंकमा पैसा थुप्रिँदै जाने तर पुँजी बजारमा नयाँ लगानीकर्ताको प्रवेश र खरिद क्षमता नबढ्ने अवस्थाले बजारको गतिशीलतामै प्रश्न खडा गरेको छ ।

अर्कोतर्फ, सेयर बजारमा आपूर्ति बढ्ने क्रम र माग विस्तारबीच पनि तालमेल देखिएको छैन । प्राथमिक सेयर निष्कासनमार्फत बजारमा नयाँ सेयर थपिँदै जाने तर दोस्रो बजारमा त्यसलाई खरिद गर्ने पर्याप्त रकम र लगानीकर्ता नबढ्ने हो भने मूल्यमा दबाब पर्नु स्वाभाविक हो । संस्थापक सेयरको ‘लकइन’ अवधि, प्राथमिक निष्कासन, म्युचुअल फन्डको लगानीसम्बन्धी व्यवस्था र बजारमा उपलब्ध सेयरको परिमाणले पनि माग तथा आपूर्तिको सन्तुलन प्रभावित गर्छन् ।

यस्तो अवस्थामा बजार नियामक नेपाल धितोपत्र बोर्डको नीतिगत स्थिरता र कार्यान्वयन क्षमता महत्त्वपूर्ण हुन्छ । धितोपत्र बोर्डका अध्यक्ष गोपाल भट्टले बजार सुधारका लागि विभिन्न नीतिगत दस्तावेज, नियम तथा कार्ययोजना अघि सारे पनि त्यसको व्यावहारिक कार्यान्वयन हुन सकेको छैन । भट्ट आफैं सेयर बजारसम्बन्धी अध्ययन र अनुसन्धानमा संलग्न रहे पनि त्यसको व्यावहारिक प्रतिफल लगानीकर्ताले अनुभव गर्न नपाएको लगानीकर्ताले महशुस गरेका छन् ।

बजारको सैद्धान्तिक ज्ञान र अध्ययनले मात्रै सुधार सम्भव नहुने भन्दै अध्यक्ष भट्टले त्यसलाई व्यवहारमा उतार्न सक्ने क्षमता आवश्यक देखिन्छ ।

विभिन्न नियम तथा नीतिगत प्रस्ताव सार्वजनिक भए पनि बजारको कारोबार, लगानीकर्ताको मनोबल र लगानी विस्तारमा त्यसले अपेक्षित प्रभाव पार्न सकेको छैन । बजारमा नयाँ सुविधा र लगानीका अवसर विस्तार गर्ने घोषणा कार्यान्वयनमा नआउँदा सुधारका प्रतिबद्धता कागजमै सीमित भएको लगानीकर्ताहरूको विश्लेषण छ ।

बजारको आवश्यकता र लगानीकर्ताको मागअनुसार नीतिगत व्यवस्था लागू हुन नसक्दा सुधारको सट्टा अन्योल थपिएको उनीहरूको भनाइ छ । नियामकले घोषणा गर्ने नीति र त्यसको कार्यान्वयनबीच देखिएको यही दूरीले बजारमा विश्वासको संकट थप गहि¥याएको छ ।

बजारमा देखिएका समस्या समाधान गर्न ल्याइएका नीति बारम्बार परिवर्तन हुने, विरोध वा दबाबपछि निर्णयबाट पछि हट्ने र स्पष्ट कार्ययोजनाबिना नयाँ व्यवस्था लागू गर्ने प्रवृत्तिले लगानीकर्ताको विश्वास कमजोर बनाउन सक्छ । बजारलाई प्रयोगशालाजस्तो बनाएर पटकपटक नीतिगत प्रयोग गर्नुको सट्टा दीर्घकालीन प्रभाव मूल्यांकन गरेर निर्णय लिनुपर्ने आवश्यकता देखिएको छ ।

नियमन र बजार विस्तारबीच सन्तुलन कायम गर्नु पनि नियामकका लागि चुनौती बनेको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी व्यवस्था, कारोबार निगरानी र जोखिम नियन्त्रण आवश्यक भए पनि त्यसको कार्यान्वयनले बजारमा अनावश्यक भय सिर्जना गर्नु हुँदैन । विगतमा ५१ वटा कम्पनीको सूची सार्वजनिक गरिएको घटनादेखि कारोबार प्रणालीमा देखिने प्राविधिक समस्या र नेप्सेको वेबसाइटमा आउने अवरोधसम्मले बजारको पारदर्शिता र विश्वसनीयतामाथि प्रश्न उठाउने गरेका छन् ।

बजारको दीर्घकालीन विकासका लागि साना लगानीकर्ताको सहभागिता मात्रै पर्याप्त हुँदैन । संस्थागत लगानीकर्ताको प्रवेश, गैरआवासीय नेपालीको लगानी परिचालन र दोस्रो बजारमा लगानीयोग्य रकमको विस्तार आवश्यक देखिन्छ । बजारमा सेयरको आपूर्ति बढाउने नीतिसँगै माग सिर्जना गर्ने व्यवस्था पनि अघि बढाउनुपर्ने हुन्छ । प्राथमिक बजार विस्तारलाई मात्रै पुँजी बजारको विकासका रूपमा बुझ्दा दोस्रो बजारको वास्तविक समस्या ओझेलमा पर्न सक्छ ।

सेयर बजारको अवस्था अर्थतन्त्रको समग्र मनोविज्ञानसँग पनि जोडिएको हुन्छ । निजी क्षेत्रको लगानी विस्तार, रोजगारी सिर्जना, उपभोग र व्यावसायिक गतिविधिमा सुधार नआएसम्म पुँजी बजारमा दीर्घकालीन उत्साह कायम गर्न कठिन हुन्छ । त्यसैले बजार सुधारका लागि ब्याजदर घटाउने वा तरलता सहज बनाउने उपाय मात्र पर्याप्त हुँदैनन् ।

सरकार गठन भएको सात महिनाको अवधिमा पनि राजनीतिक स्थिरताको अपेक्षालाई आर्थिक विश्वासमा रूपान्तरण गर्न किन सकिएन ? यो प्रश्नको जवाफ लगानीकर्ताहरूले खोज्न थालेका छन् । कात्तिकको दोस्रो सातामा बजारमा देखिएको सामान्य सुधार सकारात्मक संकेत भए पनि त्यसलाई दिगो वृद्धिको आधार मान्न सकिने अवस्था छैन । बजारलाई चलायमान बनाउन सरकारले निजी क्षेत्रको विश्वास जित्ने, नियामकले स्थिर र अनुमानयोग्य नीति लागू गर्ने तथा संस्थागत लगानी विस्तारका लागि आवश्यक वातावरण तयार गर्नुपर्ने देखिन्छ ।

सेयर बजारमा सुधार ल्याउने जिम्मेवारी सरकार वा नियामकको मात्रै होइन, कम्पनीहरूको वित्तीय पारदर्शिता, संस्थागत सुशासन र लगानीकर्ताको जिम्मेवार व्यवहार पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ । तर, यी सबै पक्षलाई जोड्ने आधार भनेको विश्वास नै हो । सात महिनामा झण्डै पौने चार खर्ब रुपैयाँ बराबरको बजार पुँजीकरण घट्नुले बजारमा रहेको यही विश्वासको संकटलाई गम्भीरतापूर्वक सम्बोधन गर्नुपर्ने आवश्यकता औँल्याएको छ ।दृष्टिन्यूज

📢 विज्ञापन स्पेस (९०० × १००) — यहाँ तपाईंको विज्ञापन देखाउनुहोस्
स्रोत: बर्दिया टाइम्स

admin

बर्दिया टाइम्सका आधिकारिक संवाददाता। सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा समर्पित।

📢 विज्ञापन स्पेस (९०० × १००) — यहाँ तपाईंको विज्ञापन देखाउनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *